सुशील अमेरिकामै बस्ने!

गिरिजाप्रसाद कोइरालाले आफ्नो परिवारिक विरासतका रूपमा छोरी सुजातालाई अगाडि बढाएपछि रुष्ट बनेका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले राजनीतिक सन्यास लिने सम्भावना बढेको छ। केही महिनादेखि दाजु गिरिजासँग औपचारिकबाहेक कुराकानी गर्न छाड्नु भएका सुशील स्वास्थ्य उपचारका लागि भनेर आज सोमबार बिहान ९ बजे अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ।
कार्यवाहक सभापति सुशीलले सभापति गिरिजालाई यसबारे जानकारीसमेत नदिएका कारण कोइराला परिवारभित्र अन्योलता छाएको छ। सुशीलले आफ्ना निकटस्थसँग अमेरिकातिर नै बस्ने चाहना रहेको जनाएका कारण अब कार्यवाहक सभापति कसलाई बनाउने भन्ने विषयमा कोइराला परिवारभित्र अन्योल देखिएको हो। एक महिनाका लागि विदेश जानुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी अरु कुनै नेतालाई दिनुपर्ने हुन्छ। तर सुशीलले यसबारे सभापति गिरिजासँग कुनै कुराकानी गर्नुभएको छैन। तसर्थ, कार्यवाहक सभापति कसलाई कति अवधिका लागि बनाउने भन्ने विषयमा सभापति कोइराला पनि अन्योलमा हुनुहुन्छ। 'सुशील अब फर्कंदैनन्' भन्ने कुरा सानोबाबुले थाहा पाइसक्नुभएको छ, आफ्ना निकटस्थसँग छोरी सुजाताले टिप्पणी गरेकी छन्।
सुशीलको पलयानपछि कार्यवाहकको जिम्मेवारी वरिष्ठ नेता शेरबहादुर देउवाले पाउने सम्भावना पनि छ।
एकीकरणपछि देउवा पार्टीको कुनै पदमा हुनुहुन्न। रामचन्द्र पौडेल संसदीय दलको नेता भइसकेका कारण पनि देउवाको विकल्प छैन। तर कोइरालाले छोरी सुजातालाई नै कार्यवाहक दिनुहुने हो कि भन्ने आशंका पनि बढेको छ।
कार्यवाहक सभापति सुशील अमेरिकामा रहेका आफन्तमध्ये गोविन्द कोइराला वा शैल उपाध्यायमध्ये एकजनाको घरमा बस्नुहुने बताइएको छ। न्युयोर्कमा प्राध्यापन पेसामा संलग्न गोविन्द कोइरालाकी श्रीमती मृदुला अमेरिकाकै नवधनाढ्यमध्येमा पर्छिन् भने शैल उपाध्यायको पनि आर्थिक हैसियत निकै समुन्नत छ।