सरकारमा पठाउने व्यक्तिको विषयमा एमालेमा विवाद


कार्यविभाजन बाँडफाटका लागि बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सरकारमा पठाउने व्यक्तिहरुको छनोटका विषयमा नै विवाद भएपछि मंगलबारसम्मका लागि सारिएको छ।
बैठक औपचारिक रुपमा सुरु हुन नपाउदै सरकारमा सहभागी नेताहरुका विषयमा छलफल हुँदा शीर्ष नेताहरुले सरकारमा पठाउने छुट्टाछुट्टै व्यक्तिहरुलाई सिफारिस गर्नुपर्ने धारणा राखेपछि सदस्यहरुबीचमा नै विवाद भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
बैठकमा अध्यक्ष झलनाथ खनालले ईश्वर पोखरेललाई गृहमन्त्री एवं अर्थमा सुरेन्द्र पाण्डेलाई राख्न भनेका थिए। नेता केपी ओलीले भने अर्थमा शंकर पोखरेल र गृहमा विद्या भण्डारीलाई राख्नुपर्ने धारणा राखेका थिए।
सरकारको नेतृत्व गरेका एमाले वरिष्ठ नेता एवं प्रधानमन्त्री माधव नेपालले भने गृहमन्त्रीमा भीम रावललाई पठाउन आग्रह गरेका थिए।
एमाले अध्यक्ष खनालले सरकारमा जानका लागि पूर्वाञ्चल र जनजातिको प्रतिनिधित्व गर्दै रकम चेमजोङ, मध्यमाञ्चल, मधेश र दलित समुदायको प्रतिनिधित्व गर्दै सत्यनारायण मण्डल, पश्चिमाञ्चलबाट जनजातिको प्रतिनिधित्व गर्दै दलबहादुर रानालाई प्रस्ताव गरेका स्रोतको भनाई छ।
उनले मध्यपश्चिमाञ्चल र कर्णालीको प्रतिनिधित्व गर्दै डिल्लीबहादुर महत र राज्यमन्त्रीमा गरिमा शाहलाई प्रस्ताव गरेका थिए।
नेता केपी शर्मा ओलीले भने विष्णु पौडेल, भिम रावल, शंकर पोखरेल र रघुविर महासेठलाई सरकारमा पठाउने प्रस्ताव गरेका बताइएको छ।
प्रधानमन्त्री नेपालले भने ईश्वर पोख्रेल, अशोक राई, युवराज ज्ञवाली मध्ये एकजनालाई सरकारमा सहभागी बनाउनै पर्ने अडान लिएका छन्।
केन्द्रीय कमिटिको बैठकमा यस विषयमा विवाद भएपछि सदस्यहरुले पहिले यस विषयलाई टुंग्याउन शीर्ष नेताहरुलाई आग्रह गरेपछि केन्द्रीय कमिटिको बैठक स्थगित भएको थियो।
सोमबार अपरान्ह पुनः बसेको स्थायी कमिटीको बैठकले सरकारमा पठाउनेहरुको नामावली टुंगो लगाउने भएको छ।
सोमबार अपरान्हकालागि तय भएको कांग्रेससँगको छलफल पनि एमालेले स्थगित गरेको छ।