
मान्छेलाई 'अब म मर्दै छु' भन्ने थाहा भयो भने उसका मनमा कस्ता कुरा खेल्छन् होला ? यात्राका क्रममा लार्के भञ्ज्याङमा मृत्युलाई सारै नजिकबाट देखेका छन् पत्रकार मोहन मैनालीले । मोहन मैनाली अहिले पनि सम्झिन्छन्, चौध वर्षअघिको एउटा हिमाली यात्रा । यात्रा पत्रकार मोहनलाई हिमाल-कन्दराको दुर्गम यात्रा गर्न चौपट्टै मन पर्छ ।
त्यतिवेला मोहन र उनका मित्र ध्रुव बस्नेत गोरखा जिल्लाको उत्तरी सीमाको अन्तिम गाउँ साम्दोबाट पाँच हजार सय मिटर अग्लो लार्के भञ्ज्याङ काट्दै थिए । उनीहरूको लक्ष्य मनास्लुभन्दा तीन हजार मिटर होचो लार्के भञ्ज्याङ पार गर्नु थियो । 'हामी पुगेको ठाउँ साँच्चै अनौठो थियो । हाम्रा दुवैपट्टि हिउँ जमेका टाकुरा थिए । पछाडि फर्केर हेर्दा हामी हिमालभन्दा माथि, बादलभन्दा माथि छौँ भन्ने भान पथ्र्यो,' मोहन रोमाञ्चित हुँदै भन्छन् ।
वातावरण पत्रकार समूह आँखीझ्याल युनिटमा उनीसँगै गएका पत्रकार धु्रव बस्नेत लार्के भञ्ज्याङ पुग्दा निकै बिरामी भइसकेका थिए । उनी एक पाइला पनि हिँड्न नसक्ने भएका थिए । मोहन मैनाली धु्रवलाई लार्के भञ्ज्याङमै कुर्न बसे । र, सँगै गएका पत्रकार भैरव रिसाल उनीहरूको उद्धारका लागि मान्छे खोज्न तलतिर लागे । 'रात पर्दै थियो र हिमाली चिसो पनि बढ्दै थियो,' मोहनले अतीत उधिने, 'बास्तवमा हामीलाई उद्धार गर्न चाहेर पनि कोही मान्छे रातिको ११ बजेभन्दा पहिला आइपुग्ने सम्भावना थिएन । ज्वरोले लखतरान भएका धु्रव र तीन साताको हिँडाइले गलेको म जीवित रहन सक्ने
कुरै थिएन ।'
लार्के भञ्ज्याङमा काल कुरिरहेका मोहनले अब मरिने नै भइयो भन्ने भएपछि धु्रवको मृत्युलाई सहज बनाउन एकचक्की 'एभोमिन' खुवाइदिए । 'धु्रव एभोमिनको प्रभावमा एउटा ठूलो ढुंगोलाई सिरानी लगाएर सुतिरहेका थिए । म पनि अरू केहीछिनमै एभोमिन खानेवाला थिएँ,' मोहन सम्झिन्छन्, 'त्यत्तिकैमा तलबाट एकजना मान्छे नागबेली बाटो हिँड्दै माथि आएजस्तो लाग्यो । मलाई सपना देखेजस्तो लाग्यो र आफूलाई धेरैपटक चिमोटेँ । उसले हामीनेर आएर बोलायो र बल्ल बाँचिने भइयो भन्ने भयो । ती देउतै भएर आएका मान्छे भैरव दाइले उद्धार गर्न पठाएका ग्याल्जन रहेछन् ।'
**
अनेक खोंच, गोरेटा र ढुंग्यान पहिरोका तीरैतीर धेरै हिँडेका छन् मैनाली । कति जिल्ला घुमे होलान् त यी यात्रा पत्रकारले ? 'मैले नेपालका लगभग ७० जिल्ला घुमेको छु ।' लगभग पूरै नेपाल घुमेका मैनाली भन्छन्, 'यो नेपालमा जता पुगे पनि मान्छेका दुःखका कथा एउटै भेट्टाएँ ।'
०२१ सालमा जन्मेका हुन्, मोहन । पढ्न भनेर काठमाडौँ आए । अनेक हन्डर र दुःख भोगेर पत्रकार भए । ०४६ देखि उनी पत्रकारितालाई गरिखाने बाटो बनाइरहेका छन् । यात्रा पत्रकारितामा उनले राम्रो योगदान पुर्याएका छन् ।
उनका मनमा यात्राका अनेक ठेली सुरक्षित छन् । यिनले सबैभन्दा लामो यात्रा २२ दिनसम्म गरेका रहेछन् । 'बूढीगण्डकीको तीरैतीर गरेको यात्रा सबैभन्दा लामो हो,' मोहनले सुनाए, 'त्यसवेला सरकारी सुविधाको दुरुपयोग पनि देखियो, जनताका दुःखका अग्ला पहाड पनि देखियो ।'
**
गोरखाको साह्रै दुर्गम चुनचेत गाउँको यात्रा सम्झिन्छन्, उनी । त्यो अँध्यारोमा बाँचेको एउटा गाउँले पहिलोपटक जेनेरेटर र बिजुलीबत्तीको उज्यालो देखेको थियो । यो ०५० सालतिरको कुरा हो । 'सुरुमा खासै सहयोग गर्लान्जस्ता नदेखिएका गाउँलेले जिन्दगीमा पहिलोपटक राति बिजुलीको उज्यालो देख्न पाएपछि हामीलाई बस्न गलैंचा दिए । खान मकै दिए । कति मायालु गाउँले !' मोहन उनीहरूको त्यो हार्दिकता कहिल्यै बिर्सन सक्दिनँ भन्छन् ।
यात्रामा के देखियो ? 'मान्छेका फरक-फरक बाँच्ने शैली र बोल्ने शैली प्रस्टै देखियो ।'
उनी गुफा-पोखरीको यौटा घटना सम्झिन्छन् । मोहनहरूको टोलीलाई एउटी होटल साहुनीले 'कहाँ बस्ने' भनी सोधिछन् । मोहनका साथीहरूले 'यहीँ पिँढीमा बस्ने' भनेछन् । साहुनीले पटक-पटक त्यही प्रश्न दोहोर्याइछन् । र, उनीहरूले पनि त्यही उत्तर पटक-पटक दोहोर्याएछन् । पछि त साहुनी असाध्यै रिसाइछन् । रिसाउनुको कारण के रहेछ भने उनले 'कहाँ बस्ने' भनी सोधेको अर्थ त 'घर कहाँ हो' पो रहेछ । मोहन भन्छन्, 'यस्तो प्राविधिक अप्ठ्यारो भाषाको कारण परेको हो । यस्ता कुरा यात्रामा पटक-पटक दोहोरिन्छन् ।'
**
यिात्रामा नयाँ ठाउँमा पुग्दा उनलाई कस्तो लाग्दोरहेछ त ? 'नयाँ ठाउँमा पुग्दा जिन्दगी नै त्यसैका लागि बनेको हो जस्तो लाग्नेरहेछ । इतिहासका पुराना पाना हामीसँगै समाहित हुन आएजस्तो पनि लाग्थ्यो,' मोहनले सुनाए, 'त्यो मिठास फेरि अनुभव गर्न कहाँ सकिन्छ र ?
स्मृतिमा हराउन निकै रमाइलो हुन्छ । तर, सबै स्मृति रमाइला हुन्छन् भन्ने होइन । उनी पुगेका हरेक ठाउँमा बग्रेल्ती थिए, दुःखका कथा । 'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । दुःख पाएका मान्छेले आफ्ना दुःखका केही अंश हामीलाई पनि सुनाउँदा हामी पनि दुःखी हुँदारहेछौँ,' मोहन भन्छन्, 'आफ्ना दुःख र सुख बाँड्ने ती गाउँलेलाई अहिले पनि सम्झिरहन्छु ।'
यात्राका के कुराले बढी पछ्याउँछन् होला मोहनलाई ? 'विषयको गाम्भीर्यले,' मोहनले झट्ट एउटा घटना सम्झिहाले, 'बिराटनगरमा निकै लामो समयपछि पानी पर्यो । होटलमा बसेका हामीलाई खुब सताएको थियो गर्मीले । त्यो लामो समयपछिको पानीले मान्छेसँगै भ्यागुता पनि खुसी भएछन् र खेतै हरियै हुनेगरी भ्यागुताहरू आए ।
त्यो दृश्य खिच्नु थियो, तर सारा पूर्वाञ्चलका घर-घरबाट आएको दिसा-पिसाब बगाएर त्यहीँ थुप्रिएको थियो । त्यो दृश्य फेरि कहिल्यै खिच्न सकिने पनि थिएन । त्यसैले त्यो दिसा-पिसाबको मतलब नगरी हामी भ्यागुता खिच्न तल ओर्लियौँ । भ्यागुताहरू खिचिसकेपछि फोहोरका कारण हाम्रा गोडाभरि ठुल्ठूला फोका निस्किए । र, पछि मात्र निको भयो,' विषयको गम्भीरता यसरी प्रस्ट पारे मोहनले ।
यात्रामा भेटिएका ढिस्का, जंगल र नीलो आकाशले मोहनलाई के शिक्षा दिए होलान् ? 'एउटा चेतना सिकायो, आफ्नो देशको सौन्दर्य आफ्नै आँखाले पटक-पटक देखायो र आफ्नै देशप्रति गौरव गर्न सिकायो,' मोहनले सुनाए, 'कामकै वेला बडो चरम आनन्द दिए यात्रामा भेटिएका सौन्दर्यहरूले ।'
यात्रामा उनले अनेक दुःख भोगेका छन् । पहाडी धुले बाटामा निकै धुस्रे-फुस्रे भएर दौडेका छन्, उनी । 'जोगिमारामा दिनभरि धुलोबाटोमा हिँडेको सम्झन्छु, त्यो धुलो जिउभरि टाँसिएर, बेलुका पानी पर्दा, बेस्सरी जिउ नै गन्हाएको पनि सम्झना छ,' मोहनले सुनाए ।
**
कर्णालीतिरको यात्रामा जाँदा त्यहाँका 'मान्ठा(मान्छे)' ले गरेका केही विकासदेखि प्रभावित भएका रहेछन्, उनी । गरे त विकास चाँडै हुनेरहेछ । केही वर्षअघि पुग्दा बाजुराको पाण्डुसेनमा विकास केही पनि थिएन । तर, त्यहाँ २/३ वर्षमै मोटरबाटो पुगेछ । हेल्थपोस्ट बनेछ । ती विकासका खुडि्कला हुन् । मोहनले सुनाए-'विकास विस्तारै हुँदै जाने कुरा हो । तर, विकासको बाधक मान्छे नै हो । लोकल एलिट (स्थानीय ठूलाठालू) वर्गले समाजमा विकास देख्न चाहँदारहेनछन् ।
मोहनसँग युद्धका घाउ पनि छन् । बाजुराको पाण्डुसेनमा युद्धका वेला एउटै गाउँका आठजना मान्छे मरेका थिए । मोहनहरूको समूह पुगेको थियो गाउँमा । त्यो शोकको घडीमा अरू रोइरहँदा एउटी आमैले भनिन् रे !, 'ए नरोऊ, पत्रकार आइपुगेका छन् । अब हाम्रा कुरा हाम्रा मात्र रहेनन्, पत्रिकामा उहाँहरूले लेखेपछि सबैले थाहा पाउँछन् ।' एउटी बूढीआमैले आफूहरूप्रति गरेको विश्वासले मोहन खुबै भावुक बनेछन् ।
यात्रामा मोहनले घाम/छाया, फूल/काँडा, हल्ला/मौनता, सबथोक भेटेका छन् । उनका मनमा शिलालेखझैँ कहिल्यै नमेटिने गरी बसेका छन् ७० जिल्लाका सम्झना ।
दीपक सापकोटा
spkt.deepak@gmail.com



